नियम ३१
स्रेस्तेदारको काम, कर्तव्य र अधिकार
यस नियमावलीमा अन्यत्र उल्लेख भएका काम,
कर्तव्य र अधिकारको अतिरिक्त स्रेस्तेदारको अन्य काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ ः-
(क) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणमा दर्ता हुने अभियोगपत्र, उजुरी वा
पुनरावेदनपत्र, निवेदन, वकालतनामा लगायतका लिखतहरू हेरी जाँची रीत
पुगेको भए दर्ता गर्ने वा दर्ता गर्न नमिल्ने भए कारण जनाई दरपीठ गर्ने,
(ख) मुद्दामा पेश भएका कागजलाई सक्कलसँगै भिडाई ठीक देखिएमा प्रमाणित गर्ने र
सक्कलमा केही कैफियत देखिएमा सो कैफियत जनाइ सम्बन्धित पक्षको
सहिछाप गराई राख्ने,
(ग) अभियोगपत्र वा पुनरावेदनपत्र वा निवेदन तथा सोको प्रतिउत्तरपत्रसाथ पेश हुन
आएका कागजातको जाँच गर्ने,
(घ) म्याद जारी गरी तामेल गराउने,
(ङ) मुद्दा मामिलामा मनासिव माफिकको कारण जनाई तारिख तोकिदिने,
(च) मुद्दाको डायरी कायम गरी त्यसमा हरेक मुद्दाको कारबाहीको लागि दिइएको
तारेख समेत खुल्ने गरी कारबाहीको अद्यावधिक विवरण राख्ने,
(छ) प्रचलित कानून बमोजिम वारेस लिने तथा मुद्दा सकार गराउने,
(ज) इजलासबाट भएको आदेश बमोजिमको काम कारबाही कार्यान्वयन गर्ने, गराउने,
(झ) इजलासबाट भएको आदेश बमोजिम धरौटी वा जमानत लिने,
(ञ) मुद्दाको मिसिल कागजात सुरक्षित रूपमा राख्ने, रेखदेख गर्ने गराउने तथा
धुल्याउनु पर्ने कागजात प्रचलित कानून बमोजिम धुल्याउने,
(ट) कामको बोझको आधारमा कर्मचारीहरूमा काम बाँडफाँड गर्ने,
(ठ) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणबाट तयार गर्नु पर्ने प्रतिवेदन,
मास्केवारी, फाँटवारी आदि तयार गरी न्यायाधिकरण वा पुनरावेदन
न्यायाधिकरणको अध्यक्ष समक्ष पेश गर्ने,
(ड) कर्मचारीहरूको वैयक्तिक विवरणको अभिलेख राख्ने,
(ढ) कर्मचारी सरुवा बढुवा भई जाँदा बरबुझारथ गराउने,
(ण) कर्मचारी प्रशासन सम्बन्धी अन्य काम गर्ने,
(त) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणबाट गर्नु पर्ने अन्य आवश्यक
प्रशासनिक काम कारबाही गर्ने ।